काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने समाचारको खण्डन गरेका छन् । केहि सञ्चारमाध्यममा प्रकाण्ड एमालेमा प्रवेश गर्दै शिर्षकका समाचार बाहिरिएपछि उनले त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका हुन् ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’ उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएकाहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । उनले यस्तो कुप्रचार गर्नेहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए ।
‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ उनले भने ।




प्रतिक्रिया