प्रकाण्डको चेतावनी : एमसीसी पास भए देशमा आगो लाग्छ, भ्रष्ट तत्वलाई छुट दिँदैनौं

प्रकाण्डको चेतावनी : एमसीसी पास भए देशमा आगो लाग्छ, भ्रष्ट तत्वलाई छुट दिँदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले राष्ट्रियतमाथि ठूलो हमला भइरहेको बताएका छन् ।

एमसीसीविरुद्ध जारी आन्दोलनबारे शनिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले देशमा ठूलो हमला भइरहेको भन्दै अमेरिकी सहयोग नियोग एमसीसी अघि बढाएमा देशमा आगो लाग्ने चेतावनी दिए ।

एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गरिने चेतावनी समेत उनले दिए । ‘यो सरकारले एमसीसी पास गर्ने मूर्खता नगर्नु, छोटो समयको सरकार हो यो । यसअघि केपी ओलीले कोसिस त गरेका थिए तर पनि सकेनन्’, उनले भने ।

एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसदबाट पास गराएर इतिहासमा अक्षम्य अपराध नगर्न भन्दै उनले प्रचण्डलाई समेत बोलैमा समेत हुन आग्रह गरे ।

‘अहिले राष्ट्रियतामाथि ठूलो हमला भइरहेको छ । यदि एमसीसी अघि बढाएमा कडा आन्दोलन गर्छौँ । संसदीय भ्रष्ट तत्वलाई हामीले किन छुट दिने ? उनीहरुविरुद्ध प्रतिरोध गर्छौँ । यदि एमसीसी जवरजस्ती पास गरिन्छ भने देश जल्छ । आगो लाग्छ, आन्दोलनको आगो लागेका बेला के हुन्छ, शासकहरुले हेक्का राखुन्’, उनले भने, ‘अहिले प्रचण्डजी पनि त्यही गठबन्धनमा छन् । त्यसैले उनले पनि यसबारे बेलैमा नसोचे पछुताउनेछन्।’

उनले जनताकै विरोधका कारण अहिलेसम्म एमसीसी पास हुनबाट रोकिएको दाबी गरे । ‘हाम्रो विरोधले चाहेर पनि शासकले यसलाई पास गर्न सकेका थिएनन् । तत्कालिन शेरबहादुर देउवा सरकारले सुरु गरेको यो सम्झौता ओलीले पनि हाउसमा टेबुल गर्न सकेनन् । यो जनताको विरोधका कारण सफल भएको हो,’ नेता प्रकाण्डले भने ।