काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए ।
नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्र्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेकाबारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए । व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो भन्दै उनले कांग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए ।
नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्ने भन्दै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको नेता सिंहले टिप्पणी गरे ।




प्रतिक्रिया