काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको बताए ।
आपसी सहमतिअनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढिरहेको उनले बताए । ‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थिर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ उनले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’
कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको बताउँदै उनले पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए ।
मन्त्री सिंहले बुधबार बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागी हुनेछन् भने शहरी विकास मन्त्रालय अन्तर्गतका योजनाको निरीक्षण गर्ने भएका छन् ।




प्रतिक्रिया