काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपतिमा सुनको जलहरि लगाउने निर्णयको विरोध गरेको छ ।
राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जलहरि लगाउने खर्चले पशुपतिनाथ विश्वविद्यालय खोल्न सुझाव दिएका छन् । उनले एक अर्ब रुपैयाँले गरिब, जेहेनदार विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न सुझाव दिएका हुन् ।
‘बाबा भोलेनाथ प्रति भक्ति र समर्पण गर्न त्यो पैसाबाट बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्ने तरखर गर्नुस् । यो विश्वविद्यालयमा पशुपतिनाथमा भक्तजनहरुले चढाएको भेटिबाट देशको सातै प्रदेशबाट छानिएका गरीब, जेहेनदार र बिभिन्न जातीय समूहका बिद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षाको ब्यवस्था गर्नूस । यो नै बाबा भोलेनाथ प्रति सच्चा भक्ति हुनेछ’, उनले भनेका छन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने निर्णय गरेको छ ।
पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया