कांग्रेसको माग : जेनजी आन्दोलनको अराजक गतिविधिबारे छानबिन गरी कारबाही गर्नू

कांग्रेसको माग : जेनजी आन्दोलनको अराजक गतिविधिबारे छानबिन गरी कारबाही गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३ र २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन् ।

बिहीबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो, निजी सम्पत्तिमाथि आक्रमण भयो, यसबारे तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरूको समान दृष्टिकोण आएको बताए ।

उनले भने, ‘भदौ २३, २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो, निजी सम्पत्तिमाथि आक्रमण भयो, नेताहरूमाथि आक्रमण भयो, राष्ट्रिय संरचनामाथि पनि आक्रमण भयो, यसका बारेमा तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा हामी सबैको समान दृष्टिकोण आएको छ ।’

वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै उनले यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए ।

उनले भने, ‘हाम्रोसामु जुन राष्ट्रिय चुनौती खडा भएको छ, यसले पार्टीको सामु पनि चुनौती खडा भएको छ । यो अवस्थाबाट कसरी अगाडि बढ्ने र आत्मविश्वासको अवस्था सकारात्मक कसरी बनाउने, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी प्रतिबद्ध छौं, त्यसलाई कसरी जोगाउने र समग्र देशलाई पनि कसरी कमजोर हुनबाट रोक्ने भन्ने खालको विषयमा सबैले आफ्नो कुरा राख्नु भयो ।’

भदौ २४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति पार्टीको गम्भीर आपत्ति रहेको पनि उनको भनाइ छ ।