काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राप्रपा छोडेका सुुनीलबहादुर थापाको पार्टी प्रवेशबारे असन्तुष्टी जनाएका छन् ।
बुधबार नेता सिंहले सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र नयाँलाई जिम्मेवारी दिएरु भित्र्याउने समय उचित नभएको बताएका छन् ।
‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने’, उनले भने, ‘प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’
कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई वर्खास्त गरेको छ भने राप्रपा नेता सुनीलबहादुर थापासहितलाई पार्टी प्रवेश गराएको छ ।
त्यस्तै उनले सभापति देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको बताएका छन् । नेता सिंहले तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको बताए ।
‘पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ’, उनले भने ।




प्रतिक्रिया