काठमाण्डु – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको सिम्रौनगढ नगरपालिका–२ का चुरे तथा वन–जंगल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।
शुक्रबार ललितपुरमा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त तथा ‘मानव अधिकार शताब्दी पुरुष’ डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र, राशि ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्हसहित पुरस्कार हस्तान्तरण गेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै डा. दासले तराईमा अन्धाधुन्ध प्राकृतिक स्रोत दोहनका कारण बढ्दो वातावरणीय संकटलाई गम्भीर चुनौतीका रूपमा लिँदै सरकारले तराईलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको उल्लेख गरे ।
साथै, वैदेशिक रोजगारीमा रहेका ५० लाखभन्दा बढी नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगमार्फत ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे ।
पुरस्कारबाट सम्मानित यादवले आफ्नो चुरे संरक्षण अभियानको सुरुवात २०७४ सालमै गरेको स्मरण गर्दै जलवायु परिवर्तन र पानीको संकटलाई ध्यानमा राखी प्राकृतिक स्रोतको संरक्षण अत्यावश्यक रहेको बताए ।
यादवले पुरस्कार स्वरूप प्राप्त ५० हजार रुपैयाँ समाजका विभिन्न स्थानमा विरुवा वितरण र रोपणमा खर्च गर्ने घोषणा गर्दै कार्यक्रम स्थलमै ५१ सय ५० रुपैयाँ बराबरको १५० वटा कागतीको विरुवा वितरण गरेर अभियानको सुरुवात गरे ।




प्रतिक्रिया