काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको नियमित १५औँ महाधिवेशनका पक्षधर र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच गम्भीर मनोवैज्ञानिक खाडल देखिएको बताएका छन् ।
नेता महतले यसले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको बताए ।
पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनरुत्थान कठिन हुने पनि उनले बताए ।
बिहीबार बाँसबारीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएका बताउँदै कांग्रेस अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।
महतले पार्टीभित्र अहिले देखिएको विवाद समाधान गर्न १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर १५औँ महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने प्रस्तव गरे ।
क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने पनि प्रस्ताव उनले अघि सारेका हुन् ।
उनले अहिलेको सबैभन्दा ठूलो आवश्यकता पार्टीको बृहत्तर एकता रहेकोमा जोड दिँदै भने, ‘यो बृहत्तर एकता भएन भने कांग्रेसलाई पुनःस्थापित गर्ने अभियान कमजोर हुन्छ ।’ उनले ‘यसका लागि सभापति गगन थापालाई पहल गर्न आग्रह पनि गरे ।
नेतृत्व तहबाटै भरोसा र विश्वास जगाउन नसक्दा कतिपय साथीहरूले पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बस्ने अवस्था आएकोमा उनले चिन्ता व्यक्त गरे।
नेता महतले भने, ‘अब कांग्रेससँग अलमलिने समय धेरै छैन । फाट्टफुट्ट र अनौपचारिक भेटघाटबाट मात्र सबैलाई समेटेर लैजाने यो एकता अभियानले पूर्णता पाउन सक्दैन । यसका लागि तत्कालै एउटा गम्भीर र सघन छलफल हुनुपर्दछ र चाँडोभन्दा चाँडो निष्कर्ष निकालेर पार्टीलाई गति दिनुपर्छ।’
महतले अहिले आफूहरूले कुनै किसिमको पद र भागबन्डा नमागेको उल्लेख गर्दै १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टी मात्रै आफूहरूले चाहेको बताए ।
विशेष महाधिवेशनबाट आएको समिति पार्टीमा सर्वशक्तिमान हुन नसक्ने उनको दाबी छ । ‘१५औँ महाधिवेशनपछि आउने समिति मात्रै सर्वस्वीकार्य हुनसक्दैन’, उनले भने ।
महतले सदस्यताको डिजिटल नवीकरकणका नाममा वर्षौंदेखि पार्टीमा काम गरेका नेता तथा कार्यकर्ताहरूलाई बन्देज लगाउन नहुने बताए । सदस्यता नवीकरण यसअघि नै भइसकेकाहरूलाई फेरि डिजिटलका नाममा छुटाउन नहुने उनले बताए ।




प्रतिक्रिया