काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन्।
‘नेपालले आँफै रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, किनकी हामी ऋण तिर्न सक्दैनौं,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु केहीपनि नभएको जिकिर गरे ।
उनले भने,‘रेलको सम्झौता नयाँ होईन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरुपनि भएका थिए, हुन त नेपालमा रेल आउनु राम्रो हो, तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो, यसको लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पुँजीगत खर्चभन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरुमा नै बढि जोड दिनुपर्छ।’
उनले नेपाल सिमित स्रोत र साधन भएको मुलुक भएकोले अहिले आन्तरिक आवश्यकत्ताहरु पूराहरु गर्नतिर बढि केन्द्रित हुनुपर्ने धारणा राखे । उनले थपे,‘रेल निर्माणजस्तो पूर्वाधार विकासबाट प्रतिफल लिनको लागि धेरै समय कुनुपर्छ।’
नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि रेल बनाउनेबारे नेपालले दुवै नेतृत्वलाई अनुदानमा बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए । उनले भने,‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ, नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन्।’ दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा पनि सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाई छ ।
चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै नेता महतले प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माँग भएका सिमित वस्तुहरु बिना भन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुनुपर्दथ्यो भन्दै त्यसो हुन नसकेकोमा गुनासो पोखे । त्यस्तै उनले भ्रमणको दौरान विद्युतमा लगानी गर्ने भन्ने कुरा आएको कोट्याउँदै त्यो लगानी कसरी आउँछ भन्दै प्रश्न समेत गरे । उनले भने,‘कुन शर्तमा चिनियाँ लगानी आउने हो ? पिपिए कसरी गर्ने भन्नेबारे अहिलेपनि स्पष्ट भएको छैन्।’
त्यस्तै ट्रान्समिशन लाईन निर्माणबारे भएको सहमतिप्रति उनले उक्त परियोजना अनुदान, ऋण वा के मा बन्ने हो ? र विद्युत खरिद तथा विक्री सम्झौता कस्तो हुने हो भन्दै प्रश्न गरे । प्रधानमन्त्रीको चीन भ्रमणमा भएका समझदारीका विषयवस्तुहरु पूरानै रहेको पनि उनको गुनासो छ । उनले भने,‘नयाँ विषयवस्तुहरु केही पनि छैनन्, कार्यान्वयन अब कसरी हुन्छ र कुन शर्तमा सहयोग आउने हो त्यो हेर्न बाँकी छ।’
काभ्रेको पाँचखालमा औद्योगिक केन्द्र निर्माण गर्ने भनिएको थियो त्यो निर्माण भए नेपालमा उत्पादित वस्तुहरु निर्यात गर्न सजिलो हुनेथियो भन्ने उनको तर्क थियो । तर यस सम्बन्धमा समेत यो भ्रमणमा कुनै ठोस सहमति नभएको उनको गुनासो छ ।
त्यस्तै पेट्रोलियम भण्डारणको विषयमा पनि ठोस कुरा नआएको उनले गुनासो गरे । कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर आफूहरुले भन्दै आएको बताउँदै उनले भने,‘हामीले कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर भन्दै आएका छौं, समग्रतामा ओलीजीको चीन भ्रमण हुनुभन्दा पहिल्यै नै उहाँले भ्रमणपछि उथुलपुथुल नै हुन्छ भनेर बोल्नुभयो, रेल त पर्सीबाट नै चल्छ जस्तो कुरा भरर भन्नुभयो, तर काम गर्ने कुरा गर्नुपर्यो नि, कुरा त हामीपनि भरर गर्नसक्छौं।’
उनले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर अन्य देशहरुसँग सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यदि समस्याहरु छन् भने तर्कसंगत ढंगले टेबुलमा राख्नुपर्छ, सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियताजस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठिकै छ भन्ने, जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो।’ उनले प्रधानमन्त्री ओलीलाई जनतातिर फर्केर नारा लगाउन सिपालु रहेको आरोप लगाए ।
उनले आशाको चुलो चुल्याउने कुरा नै गलत भएको पनि बताए । उनले पटक–पटक रेल निर्माण गर्नु राम्रो कुरा भएपनि यो नेपालले आँफै बनाउन नसक्नेतर्फ सरकारलाई सचेत गराए । उनले भने,‘भारत र चीनबीच नेपालको भूमि भएर चीन–नेपाल–भारत रेल चलाउन सकियो भने नेपालले लाभ लिन सक्ने तर अहिलेको अवस्थामा रेल चलाउनपनि सक्दैन्।’ महतले नेपालले बरु बाह्रैमास चल्ने सडकहरु बनाउने र बनेका सडकहरुलाई स्तरोन्नती गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाए ।




प्रतिक्रिया