सरकारले राम्रा काम गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र होः डा महत

सरकारले राम्रा काम गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र होः डा महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन् ।

उनले भने, ‘यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो ।’

कांग्रेस नेतृत्वको यो सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा (तामाङ)द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताए ।

अघिल्लो ओली सरकारले जनाताका आवश्यकताअनुसार काम गर्न नसकी असफल भएपछि नेपाली नागरिकको इच्छाबमोजिम नै कांग्रेस नेतृत्वमा यो सरकार निर्माण भएको उनले स्पष्ट पारे । अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसकेको आरोप उनले लगाए ।

आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने उहाँले बताए । उनले भने, ‘आगामी आम निर्वाचन यही सरकारले गर्छ र नेपाली जनताले कांग्रेसलाई स्पष्ट बहुमत दिनेछन् ।’