काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले दक्षिण एसिया र उपेक्षित समुदायको आवाज विश्वमञ्चमा पुर्याउन सफल भएको दाबी गरेका छन् ।
शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका प्रधानमन्त्री शाहको मन्तव्यमाथि पत्रकारहरूको ह्वाट्सएप ग्रुपमा प्रतिक्रिया दिँदै परियारले सम्बोधनले नेपालको स्वाभिमान र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको बताए ।
‘संयुक्त राष्ट्र संघको पोडियमबाट प्रधानमन्त्री बालेन शाहज्यूले छर्नुभएको ओजस्वी विचारले विश्व मञ्चमा नेपालको माटो, स्वाभिमान र रैथाने चेतको बुलन्द उपस्थिति गराएको छ,’ परियारले भनेका छन्, ‘यो केवल एउटा औपचारिक भाषण मात्र थिएन, दशकौँदेखि ओझेलमा पारिएको दक्षिण एसियाली आवाज र उपेक्षित जनसमुदायको खँदिलो हुंकार थियो ।’
प्रधानमन्त्री शाहले महासभामा विश्वमा बढ्दो युद्ध र हतियारको प्रतिस्पर्धाको प्रसंग उठाउँदै त्यसको सट्टा मानवता, भोकमरी तथा गरिबी निवारणमा लगानी गर्न आह्वान गरेका थिए । परियारले शाहको सम्बोधनले अहिंसा र भातृत्वको सन्देश दिएको बताए ।
‘विश्वमा बढ्दो युद्ध, हतियारको होडबाजी र जनधनको विनाशमाथि तिखो प्रहार गर्दै प्रधानमन्त्रीज्यूले बुद्धको तपोभूमिबाट दिनुभएको अहिंसा र भातृत्वको सन्देशले विश्वलाई शान्तिको नयाँ बाटो देखाएको छ,’ उनले भनेका छन्, ‘अस्त्रमा लगानी गर्नुको साटो मानवता, भोकमरी र गरिबी निवारणमा लगानी गर्न उहाँले गर्नुभएको आह्वान समयको माग हो ।’
परियारले प्रधानमन्त्री शाहको महासभा सम्बोधनले आफूलाई गर्व महसुस भएको उल्लेख गरेका छन् ।
साथै असंलग्न परराष्ट्र नीतिको मर्मलाई कायम राख्दै विश्व व्यवस्थामा नेपालको सार्वभौम पहिचान र स्वाभिमानलाई नयाँ उचाइमा पुर्याएको भन्दै उनले प्रधानमन्त्री शाहलाई धन्यवाद दिएका छन् ।
महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले जलवायु संकट, नेपालले भोगेको विपद्, विश्वव्यापी असमानता र हतियारमा भइरहेको खर्चलगायत विषय उठाएका थिए ।
उनले साना तथा गरिब मुलुकको आवाज सुनिने बलियो बहुपक्षीय व्यवस्था आवश्यक रहेको औंल्याएका थिए ।
परियारले अब महासभाको मञ्चमा उठाइएका विषयलाई व्यवहारमा रूपान्तरण गर्न कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।
‘अब यस ऐतिहासिक मञ्चमा उठाइएका मुद्दाहरूलाई कूटनीतिक पहलकदमीमार्फत परिणाममा बदल्न सबैको ऐक्यबद्धता आवश्यक छ,’ उनले भनेका छन् ।




प्रतिक्रिया