काठमाण्डु – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बंगलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि शनिबार ढाका प्रस्थान गरेका छन् ।
प्रधानन्यायाधीश राउत बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रिफात अहमदको मैत्रीपूर्ण निमन्त्रणामा कात्तिक १५–१८ गतेसम्म हुने भ्रमणका लागि बङ्गलादेश एयरलाइन्सको विमानबाट प्रस्थान गरेका हुन् ।
भ्रमण दलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपनाप्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिष्ट्रार विमल पौडेल पनि सहभागी रहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमण टोलीले बंगलादेशको सर्वोच्च अदालतसँग न्यायिक संरचना, प्रशासनिक प्रणाली र अनुभव आदानप्रदान गर्नेछ ।
भ्रमणपछि टोलीले फर्किएर न्यायिक सुधार र क्षेत्रीय सहकार्यका सम्भावनाबारे प्रतिवेदन पेश गर्ने तयारी गरिएको सर्वोच्चले जनाएको छ ।




प्रतिक्रिया