ललितपुर – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरि काम गर्न निर्देशन दिएका छन् । बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।
विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिञ्चाई कार्यक्रम सञ्चालन गरिररहेको छ । जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरि काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए ।
‘शहरी विकास मन्त्रालय अन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका छ,’ उनले भने ‘झोलुंगे पुल, ग्रामिण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईहरुको काँधमा छ । प्रभावकारी रुपमा काम सुचारु गर्नुपर्छ ।’
हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधिन अवस्थामा छन् । आर्थिक वर्ष ०८१८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुंगे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य शुरु गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया