देउवाप्रति कार्यकर्ताको भरोसा गुम्दै गयोः प्रकाशमान सिंह

देउवाप्रति कार्यकर्ताको भरोसा गुम्दै गयोः प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताएका छन् । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली काँग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले काँग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताएका हुन् ।

‘काँग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, काँग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा काँग्रेसलाई लैजानुपर्छ’, उनले भने । आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने उनको भनाई थियो ।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाउनुभएको उल्लेख गर्दै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे । ‘मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्’, उनले भने ।

उनले दक्षिण एशियामा पहिलो महिलामन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रपति नेपाली महिला भएको बताउँदै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको स्पष्ट पारे । प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माले बताए ।