प्रकृति लम्साल मृत्यु प्रकरण : मार्च १० सम्म छानबिन गर्न भारतीय मानवअधिकार आयोगको निर्देशन

प्रकृति लम्साल मृत्यु प्रकरण : मार्च १० सम्म छानबिन गर्न भारतीय मानवअधिकार आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको राष्ट्रिय मानवअधिकार आयोगले भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको घटनामा उच्चस्तरीय छानबिनका लागि निर्देशन दिएको छ ।

केआईआईटीमा अध्ययनरत लम्सालको फागुन ४ गते केआईआईटीको होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । आयोगले केआईआईटीलाई मार्च १० सम्ममा घटनाको निष्पग छानबिन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

फेब्रुअरी २८ मा केर्आआईटीका महानिर्देशकसँग आयोगको अनुसन्धान महाशाखा र कानुन महाशाखाका अधिकारीहरूको टोलीले छलफल गरेका थियो । केआईआईटीले घटनाको छानबिन गर्न समिति बनाएको छ ।

लम्सालले उनका प्रेमी भनिएका अद्विक श्रीवास्तवबाट दुर्व्यवहारको सामना गर्नुपरेको र विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) ले उनको उजुरीलाई बेवास्ता गरेको आरोप लगाउँदै भारतको राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको थियो ।

आयोगमा परेको निवेदकमा केआईआईटीका संस्थापक अच्युत सामन्त लगायत त्यहाँका अधिकारीहरू विरुद्ध पनि कारबाही गर्न माग गरिएको छ ।

प्रकृतिको मृत्युपछि आन्दोलित नेपाली विद्यार्थीले न्यायको माग गरेका थिए । तर त्यहाँका अधिकारी र सुरक्षा गार्डले मौखिक दुर्व्यवहार, धम्की र शारीरिक आक्रमणसमेत गरेको निवेदनमा उल्लेख छ ।

यसका साथै निवेदनमा विश्वविद्यालयको सामाजिक विज्ञान संस्थानमा आदिवासी बालबालिकामाथि शोषणा, उनीहरुको मानअधिकार उल्लंघन र अवैध जग्गा अधिग्रहणमा संलग्न भएको आरोप लगाइएकाले छानबिन गर्न माग गरिएको थियो ।

आयोगले मानव अधिकार संरक्षण ऐन, १९९३ को प्रावधान अनुसार अनुसन्धान गर्न केआईआईटीको छानबिन समितिलाई निर्देशन दिएको हो भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

आयोगले अनुसन्धान टोलीमा अनुसन्धान विभागका दुई अधिकारीहरू, एक जना वरिष्ठ प्रहरी अधीक्षक पदभन्दा कम नभएका र एक जना कानुन विभागका अधिकारी समावेश हुनु पर्ने पनि बताएको छ ।

यस्तै, केआईआईटीका उपकुलपति र रजिस्ट्रारले सार्वजनिक रुपमा माफी मागे पनि केआईआईटी, केआईएसएस र यसका संस्थापक अच्युत सामन्तविरुद्ध निरन्तर नकारात्मक अभियान चलाउनु गम्भीर चिन्ताको रहेको आयोगले भनेको छ ।