काठमाण्डु– सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध उजुरी परेको छ ।
बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत राउतविरुद्ध उजुरी परेको हो । राउत प्रधानन्यायाधीश हुन नैतिकरुपमा योग्य नहुने आरोपसहित बाजुराका गगन ऐडीले उजुरी दिएका हुन् ।
छोराको वीभत्स र क्रूर हत्या गरिएको मुद्दामा राजनीतिक आग्रह राखेर घटनामा जोडिएकाहरूलाई उन्मुक्ति दिने गरि आदेश जारी गरेको आरोपसहित ऐडीले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न उजुरी दिएका हुन् ।
२०७९ को मंसिर ४ गते चेतनदीप अयडीको हत्या भएको थियो । सङ्घ र प्रदेशको निर्वाचनकै बेला भएको विवादलाई लिएर घरमै पुगेर, लुकिरहेको व्यक्तिलाई बाहिर निकालेर ढुँगा र लाठीले कुटीकुटी हत्या गरिएको भिडियोमा समेत देखिने गरेको छ । घटनामा संलग्न रहेको आरोपमा परिवारका तर्फबाट त्यो बेला २४ जना विरुद्ध उजुरी दिएको थियो ।
राउतले उजुरी दिएका मध्ये ६ जनालाई धरौटी समेत नलिइ साधारण तारिखमा उन्मुक्ति दिएको र राजनीतिक आस्था र लाभबाट प्रभावित भएको आरोप आफन्तका तर्फबाट उजुरीमा उल्लेख छ । पूर्वाग्रही, पक्षपाती र कार्यक्षमताको अभाव भएका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु नहुने माग उजुरीमा छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी असोज १९ गतेदेखी अनिवार्य अवकाशमा जान लागेकाले संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश राउतलाई सिफारिस गरेको हो ।
३ गते बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध १० दिने म्यादसहित सार्वजनिक उजुरी आह्वान गरेको थियो ।




प्रतिक्रिया