उपनिर्वाचन : राप्रपा (संयुक्त) र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज

उपनिर्वाचन : राप्रपा (संयुक्त) र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – आगामी मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेद्वारी खारेज गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेद्वारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए ।

उम्मेद्वारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेद्वार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेद्वार डिल्लीप्रसाद चौलागाईं रहेका उनले जानकारी दिए ।

अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उनको भनाइ थियो ।

दुईको उम्मेद्वारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेद्वारविरुद्ध दाबी उजुरी दिने, शनिवार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै यही कात्तिक २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३ देखि ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ । रासस