काठमाण्डु– यस वर्षको प्रि–मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।यस वर्ष औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.५ मिलिमिटर पानी परेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६.३ मिलिमिटर पानी पर्दछ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ ।
पछिल्लो २४ घण्टामा २०८ मिलिमिटर वर्षा (अति भारी वर्षा) भएको मापन गरिएको छ । अधिकारीका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ । झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
त्यस्तै इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही मापन केन्द्रहरूमा पनि भारी वर्षा मापन भएको छ । तर, यसपाली सीमित क्षेत्रमा वर्षा भइरहेको छ । यता पश्चिम क्षेत्रको कास्की लमजुङ गोरखाका केही मापन केन्द्रमा समेत भारी वर्षा मापन भएको छ ।
सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि–मनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा यसपाली ४५ वर्षयताकै बढी वर्षा भएको हो ।




प्रतिक्रिया