काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने दाबी गरेका छन् ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने दाबी गरेका हुन् ।
मन्त्री आलेले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने बताएका छन् । त्यसैगरी सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिएका छन् ।
मन्त्री आलेले नारायणहिटी संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए ।
मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ । समितिले संग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।




प्रतिक्रिया