काठमाण्डु – वन तथा वातावरणमन्त्री प्रेम आलेले आफूलाई एक अर्ब रुपैयाँ घुस अफर आएको खुलासा गरे । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्ब घुस अफर आएको बताए ।
उनले भने, ‘जुन दिन मैले पदवहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि वनका केही बदमास कर्मचारीसम्मले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि कुरा कतिसम्म आयो भने हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा मोसो आफैँ दल्ने मैले ? हुँदैन भनेर इन्कार गरेँ ।’
मन्त्री आलेले आफूलाई घुस दिन आउने गिरोहलाई उन्मुक्ती दिएको भन्दै चर्को आलोचना भएको छ । बहालवाला मन्त्रीलाई एक अर्ब रुपैयाँ घुसको अफर गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा प्रहरीको जिम्मा लगाउनुको साटो मन्त्री आलेले सार्वजनिक कार्यक्रममा घुसको अफर आएको बताएका छन् ।
कर्मचारी, प्रहरी र ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिनेलाई प्हरीले पक्राउ गरिरहेको छ । तर, मन्त्रीलाई एक अर्ब रुपैयाँ घुस दिन खोज्नेलाई उन्मुक्ती दिएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मीले मन्त्रीको नियतमाथि नै शंका गरेका छन् ।
उनले मोलमोलाइमा कुरा नमिलेर मन्त्र आलेले सस्तो लोकप्रियताका लागि भाषण गरेको बताए । उनले घुस खानेलाई कारबाही गर्ने सरकारी निकाय भएकाले मन्त्रीको नियतमै खोट रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छन् । उनले सरकार भ्रष्टाचारीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताइरहँदा उनकै क्याबिनेटका मन्त्री घुस अफर गर्न आउनेलाई खुला रुपमा उन्मुक्ती दिइरहेका छन् ।
सरकारका मन्त्रीले सुशासन कायम गर्न सहयोग नगर्ने हो भने प्रधानमन्त्रीको भ्रष्टाचार विरोधी अभियान भाषणमा मात्रै सिमित हुने रेग्मीको तर्क छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक गरेको थियो । १०० मा ३३ अंक प्राप्त गर्दै नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा परेको सूची ट्रान्सपरेन्सीले सार्वजनिक गरेको थियो । गतवर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) रहेको थियो ।




प्रतिक्रिया