वनमन्त्री फेरी विवादमाः सल्लाहकारकी पत्नीलाई नियुक्ती,यतिलाई अनुमति दिन कार्यनीति संशोधन

वनमन्त्री फेरी विवादमाः सल्लाहकारकी पत्नीलाई नियुक्ती,यतिलाई अनुमति दिन कार्यनीति संशोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्देशकमा सीता शाहीलाई नियुक्त गरेका छन् । उनी वनमन्त्री आलेका सल्लाहकार यमबहादुर बमकी पत्नी हुन ।

मन्त्री नियुक्त भएलगत्तै आलेले बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । बम त्यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सञ्चालक समिति सदस्य थिए । खप्तड पर्यटन विकास समितिमा हुंदा बम त्यतिबेला विवादमा तानिएका थिए । समितिमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो ।

आले र उनका सल्लाहकार बम दुवै डोटीका बासिन्दा हुन । मन्त्री आलेले समितिको अध्यक्षमा भने सिन्धुपाल्चोकका ध्रुब शाहीलाई नियुक्त गरेका छन् । त्यसैगरी वन पैदावार विकास समितिको कार्यकारी अध्यक्षमा उनले काठमाडौंकी दीपा दाहाललाई नियुक्त गरेका छन् ।

बनमन्त्रीका स्वकिय सचिव हेमन्त रेग्मीले शाहीको योग्यता पुगेकोले शाहीलाई नियुक्त गरिएको बताए । उनले भने ‘उहांसंग वेटल्याण्डमा १० वर्ष काम गरेको अनुभव छ, योग्यता पनि पुगेको छ । निवेदन दिएकामध्ये सबैभन्दा सिनियर पनि उहां नै हो । अनि उहांलाई किन नगर्ने ।’

वनमन्त्री आले पछिल्लो समय एकपछि अर्को विवादमा तानिएका छन् । आलेले केही दिनअघि मुगुमा रहेको डांफे होटलको म्याद आफूखुसी ५ वर्ष थपेका छन् भने यती ग्रुपको लगानी रहेको यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिलाई लामटाङ निकुञ्जको भित्री भागमा विद्युत् उत्पादनको अनुमति दिन कार्यनीति संशोधन समेत गराएका छन् । यसअघिका वनमन्त्री शक्ति बस्नेतले कार्यनीति संशोधनका लागी चर्को दबाव आएपनि उनले त्यसलाई अघि बढाएका थिएनन् ।

वनमन्त्री आले एकपछि अर्को विवादमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनलाई मन्त्रीबाट विदाई गर्ने सोचंमा रहेको स्रोतको दावी छ । अव वन्ने चुनावी सरकारमा जसपा,राप्रपा र पार्टीभित्रकै अन्य नेताहरु समावेश गर्नुपर्ने भएकाले आलेलाई विदाई गर्ने लगभग निश्चित भएको बताइन्छ ।