काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रमुख आयुक्त राईले सरकारी जग्गा अतिक्रमण, सरकारी सवारी साधनको दुरुपयोगजस्ता विषय रोक्न आँखा चिम्लेर नबस्ने बताएका छन् ।
‘नेपालमा भ्रष्टाचारमा सुधार आएपनि सन्तोष गरेर बस्ने अवस्था छैन् । सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ । सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला–खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन्’, उनले भने, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतामा रहने छ । राजश्वमा हुने कर छली चुहावट, सीमा क्षेत्रमा हुने चोरीनिकासी रोक्नैपर्छ । नक्कली बिल भर्पाइ गर्ने, सवारी साधन र बिना दरबन्दी कर्मचारी भर्ना लगायतका विषय आयोगको प्राथमिकतामा पर्ने बताए ।’
उनले मालपोत कार्यालय, यातायातलगायतका कार्यालयहरुमा आयोगको सुक्ष्म निगरानीले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको बताए । उनले तीनै तहका सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिएको बताए ।
उनले कोरोना महामारीको अवस्थामा पनि विचलित नभई आयोगले काम गरेको बताए । प्रमुख आयुक्त राईले काम नगर्ने सरकारी कार्यालयमाथि आयोगको उच्च निगरानी भएको बताए ।




प्रतिक्रिया