प्रेमबहादुर सिंह एकीकृत समाजवादीमा प्रवेश नगर्ने

प्रेमबहादुर सिंह एकीकृत समाजवादीमा प्रवेश नगर्ने

भन्छन् : अहिलेसम्म प्रवेशबारे केही कुराकानी भएको छैन, सोचेको पनि छैन


काठमाण्डु – पछिल्लो समय एमाले छोडेर बसेका पूर्वमन्त्री प्रमेबहादुर सिंहले आफू एकीकृत समाजवादीमा प्रवेश नगर्ने बताएका छन् । प्रवेशबारे एकीकृत समाजवादीका कुनै पनि नेतासँग अहिलेसम्म केही कुराकानी नभएको र आफूले प्रवेशबारे सोच्दा पनि नसोचेको उनको भनाइ ।

‘एकीकृत समाजवादीमा प्रवेशबारे अहिलेसम्म मेरो कसैसँग कुराकानी भएको छैन,’ सिंहले काठमाण्डुपाटीसँग भने, ‘मैले प्रवेशबारे कुराकानी त के सोच्दा पनि सोचेको छैन ।’

मिडियाहरूमा त एकीकृत समाजवादीमा प्रवेश गर्ने निश्चित भइसक्यो भनेर समाचार आइरहेका छन् नी भन्ने प्रश्नमा सिंहले भने, ‘ती मिडियाका मनोगढन्ते कुरा हुन् । मसँग कसैले यसबारे सोधेको छैन ।’

सिंह तत्कालिन राजा ज्ञानेन्द्रको पालामासहित तीन पटक मन्त्री भएका नेता हुन् । उनी नेपालमा गणतन्त्र आएपछि समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्ष बन्दै समानुपातिक प्रणालीबाट सांसद भएर दुई पटक मन्त्री भएका थिए । २०६६ सालमा कानुनमन्त्री र २०७३ सालमा सिंह खानेपानी मन्त्री बनेका थिए ।

गणतन्त्र आउनुपूर्व एमाले नेता रहेका सिंह एमालेबाट उम्मेदवार बनेर कालिकोटबाट निर्वाचन पनि जितेका थिए । राजा ज्ञानेन्द्रको शासन कालमा मन्त्री बनेपछि उनलाई एमालेले निश्काशन गरेको थियो ।

सिंह फेरि ८ चैत २०७८ माआफू नेतृत्वको समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेकपा एमालेमा मिसाएका थिए । तर, पछिल्लो समय उनी एमालेमा निस्किृय छन् ।