राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा


काठमाडौं – ११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ ।

नेपाल–चीनबीचको पारवहन सम्झौताको प्रोटोकल तयार भइसकेको छ । प्रोटोकलमा दुवै मुलुक सहमत भएका छन् । नेपाल सरकारले प्रोटोकल स्वीकृत गरेर हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको छ । राष्ट्रपतिको आसन्न चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए ।

‘प्रोटोकलमा हस्ताक्षरका लागि उच्चस्तरीय भ्रमण नै कुरिएको हो,’ उनले भने, ‘राष्ट्रपतिको भ्रमणमा हस्ताक्षर हुन सक्छ, तर यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।’ पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ छ ।

बिप्पा सम्झौता के होला ?
राष्ट्रपतिको आसन्न चीन भ्रमणका क्रममा नेपाल र चीनबीच लगानी प्रवर्द्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता ९बिप्पा० हुन सक्ने बताइएको छ । नेपाल र चीनबीच बिप्पा सम्झौताको प्रक्रिया सुरु भएको करिब ४ वर्ष पुगिसकेको छ । राष्ट्रपतिको भ्रमणअघि नै एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री मातृका यादव र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह चीन जाँदै छन् । मन्त्री र महानिर्देशकले राष्ट्रपतिको भ्रमणमा चीनबाटै सहभागिता जनाउनेछन् । यस अवसरमा महŒवपूर्ण सम्झौता हुन सक्ने मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले बताए । नेपालमा चीनको लगानी बढ्दै गएको छ र लगानीकर्ताले प्रवद्र्धन र सुरक्षाको प्रत्याभूति खोजिरहेका छन् । बिप्पा सम्झौताको मस्यौदा आदान–प्रदानसमेत भइसकेको छ । ‘एजेन्डाहरू बनेको आधिकारिक जानकारी आएको छैन,’ उनले भने, ‘तर, पारवहन प्रोटोकलमा हस्ताक्षर हुने तथा बिप्पासम्बन्धी कुनै समझदारी हुन सक्ने सम्भावना छ ।’

नेपाल एयरलाइन्सलाई चीन उडाउन पहल
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल एयरलाइन्सलाई बेइजिङ र ग्वान्जाउमा उडानको रुट तथा स्लट दिने विषयमा छलफल हुने भएको छ । नेपाल एयरलाइन्सले लामो समयदेखि चीनका विमानस्थलमा उडानका लागि स्लट र रुटको अनुमति प्राप्त गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म पाएको छैन । ‘बेइजिङ र ग्वान्जाउ विमानस्थलमा नेपाल एयरलाइन्सलाई स्लट प्रदान गर्ने विषयमा चीनसँग छलफल हुनेछ,’ पर्यटन मन्त्रालय स्रोतले भने, ‘उच्चस्तरीय भ्रमणमै एजेन्डा राख्दा त्यसमा सकारात्मक प्रगति हुने अपेक्षा गरेका छौँ ।’ यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement