राष्ट्रपति भण्डारी औद्योगिक प्रदर्शनी उद्घाटन गर्न बुटवलमा

राष्ट्रपति भण्डारी औद्योगिक प्रदर्शनी उद्घाटन गर्न बुटवलमा


बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकी छन् ।

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरिन् । उनले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गर्ने उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । महोत्सव उद्घाटनपश्चात बुटवल नजिकैको शिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निर्माणको काम पूरा भएको सङ्घले जनाएको छ । मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थल तथा पेभेलियनहरूको निर्माण सकिएको छ भने प्रदर्शनीस्थल बुटवल मण्डपलाई सजाएर चिटिक्क पारिएको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले जानकारी दिए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।