काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन लागेकोले आफुले संसद स्थगनको लागी सिफारीस गरेको शनिवार बताएपछि नेकपाको प्रवक्ताले भने त्यसको खण्डन गरेका हुन् ।
उनले शनिवार प्रधानमन्त्री निवास बालुटवाटारमा मन्त्री र आफ्ना सल्लाहकारलाई राखेर आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको दावी गरेका थिए ।
श्रेष्ठले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् ।
त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन् ‘ हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’




प्रतिक्रिया