काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।
‘सक्षम कानुन व्यवसायी, मर्यादित बार न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले शुक्रबार काठमाण्डुमा सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए ।
“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो,राष्ट्रपति पौडेलले भने, “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।
राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने उल्लेख गर्दै भने, “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन,यो देखिनु,सुनिनु,बुझिनु र महसुस गरिनु पनि पर्दछ ।
संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गर्दै उनले यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्धान कानुन व्यवसायी रहेको बताए ।
न्याय आफै हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको भन्दै राष्ट्रपति पौडेलले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुनेहुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तक्र्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे ।
“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भने । विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया