काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
नव वर्ष २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”
विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उनले भनेकी छन्, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।”
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
विक्रम् संवत २०७५ बिदा भई २०७६ शुभारम्भ भएका अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले भनेका छन्, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”




प्रतिक्रिया