समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेर लगेका हुन्।

सुवेदी लामो समयदेखि सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार हुन् । नेपाल प्रेसको समाचार कक्षमा काम गरिरहेकै बेला सादा पोशाकका तीनजना व्यक्ति कार्यालयभित्र प्रवेश गरेर सुवेदीलाई पक्राउ गरेको प्रधानसम्पादक मात्रिका पौडेलले बताए ।

तर उनीहरू प्रहरीको भ्यानमा चढेर आएका थिए । गेटमा सुरक्षार्थ खटिएका सुरक्षा गार्डलाई उनीहरूले साथी भेट्न आएको भनेर छिरेका थिए ।

समाचार कक्षमा छिरेका उनीहरूले सुवेदीसँग समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै हिँड्न भनेका थिए । तर ती सादा पोशाकका प्रहरीले सुवेदीलाई पक्राउ पुर्जी दिएनन्।

ती सादा पोशाकका प्रहरीले आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको बताएका थिए। उनीहरूले आईजी अर्थात प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको आदेश’मा आफूहरू आएको बताएका थिए ।

त्यसपछि सुवेदीले यदि छलफल गर्नुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने जवाफ दिए । प्रहरीले नमानेपछि उनलाई गाडीमा हालेर लगिएको छ। सुवेदीलाई प्रहरीले बिनापुर्जी लगेपछि अहिले नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल अपराध अनुसन्धान कार्यालयमा पुग्दैछन्।

सुवेदीलाई साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

स्रोत खोल्ने प्रयास

दुई दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो।

उक्त समाचारको स्रोत पत्ता लगाउन सुवेदीलाई नियन्त्रणमा लिइएको हुन सक्ने बताइएको छ। साइबर ब्युरोमा लगेर उनलाई त्यहीबारे सोधपुछ गर्न लागिएको छ।

अर्का पत्रकार पनि पक्राउ

यसैबीच शुक्रबार नै प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि शुक्रबार पक्राउ गरेको छ।

पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले सादा पोशाकमा आएका प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकै कार्यालयबाट बराललाई पक्राउ गरेको बताए । उनीहरूले ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै बराललाई कार्यालयबाट लगेका थिए ।

बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। नेकपाको नेता नेत्रविक्रम चन्द ‘विप्लव’ निकट मानिने उनलाई पक्राउको कारण खुलाइएको छैन।