काठमाण्डु–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाबाट ग्रसित भएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले सरकार आलोचना र विरोध सुन्न नसक्ने ठाउँमा पुगेको बताए ।
‘बदला लोकतन्त्रको विपरीत कुरा हो । दुराशय लोकतन्त्रको मूल्यमान्यतालाई नष्ट गर्छ । लोकतन्त्र मासिए गणतन्त्र कहाँ पुग्ला?,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्र मासियो भने प्रधानमन्त्रीजी कहाँ पुग्नुहुन्छ ?’
सिटौलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय राखेर पक्राउ गरिएको दाबी गरे ।
‘सिरोहियालाई पक्राउ गर्ने तरिका, पक्रेको तरिका, लगेको तरिका, थुनामा राखेको तरिकाको मूल्याङ्कन मैले गरेको छु । दुराशय बाहेक केही छैन । गृहमन्त्रीलाई झोक चल्यो । आफ्नै कार्यकर्ता पठाएर मुद्दा हाल्न लगाउनु भयो,’ उनले भने ।
अहिले प्रतिपक्षले सहकारी ठगीबारे संसदमा जनताको आवाज बुलन्द गरिरहेको उल्लेख गर्दै उनले भने, ‘गृहमन्त्रीले संसदको रोष्टममा उभिएर असंसदीय कुरा बोलेका छन् । संसदीय व्यवस्थामा सत्ताले जनताको हितामा काम गर्ने हो । प्रतिपक्षले जनताको हितमा काम गर है भनेर भन्ने हो ।’
सरकारले पेलेरै जान चाहेको हो भने आफूहरू प्रतिकार गर्न तयार रहेको सिटौलाको भनाइ थियो ।
यस्तै उनले तीन वर्षभित्रमा संविधान कार्यान्वयनमाथि समीक्षा गर्नुपर्ने बताए । ‘त्यसपछि हामी एक पटक संविधान, कानुन पुनरावलोकन गर्न पनि तयार हौँ । हामीले संविधान हाम्रा लागि होइन जनताका लागि ल्याएको हो । कांग्रेस र कम्युनिस्टहरू आफ्ना लागि जन्मिएका होइनन् । तर आज नेता आफ्नो स्वार्थमा लाग्दा समस्या उब्जिएको छ,’ उनले भने ।




प्रतिक्रिया