सहिद रीतबहादुर खड्का सम्भावनायुक्त नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री

सहिद रीतबहादुर खड्का सम्भावनायुक्त नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का सम्भावनायुक्त नेता भएको बताएका छन् ।

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको पनि बताए ।

‘रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।’

पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गरेको बताए । सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।