अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने


काठमाडौं- एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

‘स्काई पावरले ३ देखि ४ वर्ष्भित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताएकाे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो । नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए । कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए ।

फास्ट ट्र्याकबाट लगानी भित्र्याउँछौँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानीकर्ताको चासो सम्बोधन गर्दै फास्ट ट्र्याकका माध्यमबाट लगानी भित्र्याइने बताए । बिहीबार साँझ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सौर्य ऊर्जामा लगानीका लागि उनीहरूले मुख्यतः चारवटा विषयमा चासो राखेका छन्– जग्गा, विद्युत् खरिदको दर, लोड सेन्टर र प्रसारण लाइन । यी चारैवटा विषयमा हामी करिब–करिब टुंगोमा पुगेका छौँ ।’ सौर्य ऊर्जाका लागि नेपाल विद्युत् प्राधिकरणले तय गरेको दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा कम्पनीसँग सहमति हुन सक्ने देखिएको जानकारी उनले दिए ।

त्यस्तै, आयोजनाका लागि जग्गा उपलब्ध गराउने तथा प्रसारण लाइन र लोड सेन्टर बनाउन पनि नेपाल सरकार तयार रहेको उनले जानकारी दिए । ‘आज विभिन्न निकायलाई सँगै राखेर छलफल भयो, उनीहरूको चासोलाई एउटै टेबलबाट सम्बोधन गरी निर्णय गर्न सकिने निष्कर्षमा हामी पुगेका छौँ,’ ऊर्जामन्त्री पुनले भने ।

सोलार प्यानल नै नेपालमा उत्पादन

स्काई पावर ग्लोबलले एक वर्षमा २ सय मेगावाटका दरले ३ वर्षमा ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको मन्त्री पुनले जानकारी दिए । यस अवधिमा प्रतिवर्ष नेपालमा १६ हजार २ सय १७ रोजगारी सिर्जना हुने उनले जानकारी दिए । ग्रिन जायन्ट पावर नेपालका माध्यमबाट हुने लगानीबाट नेपालमा सौर्य ऊर्जाको विद्युत् परियोजना सञ्चालन मात्रै होइन, सोलार प्यानल नै उत्पादन गर्ने कारखानासमेत स्थापना हुनेछ ।

त्यसमार्फत नेपालमा प्रविधि हस्तान्तरण गर्ने योजनासमेत कम्पनीले व्यक्त गरेको ऊर्जामन्त्री पुनले जानकारी दिए । सो परियोजनाबाट ६ करोड अमेरिकी डलर (६ अर्ब ३० करोड रुपैयाँ) नेपालमा दिगो विकास लक्ष्यलाई सघाउन प्राप्त हुनेसमेत कम्पनीले जानकारी दिएको छ । यसो गर्दा नेपालको कूल ग्राहस्थ उत्पादनमा दुई खर्ब ७३ अर्बको योगदान हुने दाबी कम्पनीको छ ।

कस्तो हो स्काई पावर ग्लोबल ?
स्काई पावर ग्लोबल अमेरिकी लगानी कम्पनी सिआइएम इन्भेस्टमेन्टअन्तर्गतको कम्पनी हो । सौर्य ऊर्जाका क्षेत्रमा यसले आफूलाई विश्वकै सबैभन्दा ठूलोमध्येको कम्पनी दाबी गर्छ । हाल उसले विश्वका विभिन्न ३४ स्थानमा काम गरिरहेको जनाएको छ । विश्वभरि उसका २५ हजार मेगावाटका सोलार प्लान्टहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । उसले विश्वका विभिन्न देशमा ८० खर्ब रुपैयाँभन्दा बढीको ऊर्जा खरिद सम्झौता गरिसकेको जनाएको छ । भारत, बंगलादेश तथा पाकिस्तानमा समेत सो कम्पनीले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement