धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा


 नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।

यस्तो थियो घटना

गत १५ साउनमा धुल्याउन (नोट नष्ट गर्न) टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा ३ नोट कम थिए । अपुग ३ हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो । जब कि टेबलमा नोटको थुप्रो नै थियो, शंका लागे पनि अरू बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो ।

तर, कर्मचारीबीच चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे । कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालयमा पठाइएको थियो ।

जलाउनुपर्ने नोटको वैधानिकतासमेत राष्ट्र बैंकबाट नष्ट गरिन्छ, त्यसैले त्यस्तो नोट खोटा हुन्छ । खोटा नोट राख्ने कर्मचारीलाई फौज्दारी अपराधामा मुद्दा चलाएर दण्डित गर्नुपर्नेमा राष्ट्र बैंक नेतृत्वले विभागीय कमजोरीको रूपमा मात्र लिएको देखिन्छ । त्यसैले साउनमा भएको घटनाको अनुसन्धानरकारबाही गर्न मंसिरमा बल्ल छानबिन समिति बनाइएको थियो ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययन गर्दा ठगी भयानक देखिएको थियो । बैंकको विराटनगर शाखाका एक अधिकारी भन्छन्, ‘अधिकारीहरूले नै नोटका बिटा खल्तीमा हालेको देखियो ।’ सिसिक्यामेरामा चार दिनअघिसम्मको फुटेज मात्र सुरक्षित थिए, तैपनि त्यस्तो ठगीको पर्याप्त दृश्य कैद भएको थियो ।

पैसा खल्तीमा हाल्दै गरेको अवस्थामा देखिएका सहायक निर्देशकद्वय इन्द्रप्रसाद शर्मा र सुदिर पौडेल तथा कार्यालय सहयोगी मुनेश्वर डोमलाई फागुन १० गते बल्ल बर्खास्त गरिएको थियो । दोषी कर्मचारीलाई प्रहरीमार्फत फौज्दारी अभियोग लगाउने कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा लगाउने भन्नेमा सुरुमा छानबिन समिति नै अन्योलमा थियो । अन्तमा भ्रष्टाचार मुद्दा लगाउने निष्कर्ष समितिले निकाल्यो ।

तर, गभर्नर नेपालले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेर मुद्दा किनारा लगाइदिए । कर्मचारी विनियमावलीको दफा १४८ को उपदफा २ मा नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा वा भ्रष्टाचार गरेमा भविष्यमा बैंक सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्न सक्ने उल्लेख छ ।

३ खर्ब ६१ अर्ब रुपैयाँ धुल्याइयो

झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट बजारबाट फिर्ता लिएर राष्ट्र बैंकले नष्ट गर्दछ । नोटलाई स–साना टुक्रा पारी भट्टीमा जलाएर नष्ट पार्ने प्रक्रियालाई ‘नोट धुल्याउने’ भनिन्छ । अघिल्लो आर्थिक वर्ष (साउन २०७३ देखि असार २०७४ सम्म) विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख रुपैयाँबराबरका नोट धुल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अहिलेसम्म ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोट जलाइएको छ । एउटा नोटको सरदर आयु २ देखि ५ वर्ष हुन्छ । साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

कसरी धुल्याइन्छ नोट ?

नोट धुल्याउने केन्द्रीय स्तरको समितिमा नोट विभागका प्रमुख, अर्थ मन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकको कानुन विभागका प्रतिनिधि, नोट विभागका प्रमुखले तोकेको प्रतिनिधि र नोट विभागको नगदतर्फको अधिकारी रहन्छन् ।

बैंकको शाखा वा उपशाखा कार्यालयको नोट धुल्याउने समितिमा भने कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रक वा उनले तोकेको प्रतिनिधि, शाखाको नोट विभागको प्रतिनिधि र कार्यालयको नगदतर्फको प्रतिनिधि रहन्छन् ।

यसका लागि प्रारम्भिक चरणमा कर्मचारीले थोत्रा, झुत्रा र च्यातिएका नोट छुट्याएर एक सयवटाको बिटो बनाई रातो स्लिप लगाइन्छ । दश बिटाको बन्डल बनाई राखिन्छ । कम्तीमा २ सय बन्डल झुत्रा नोट जम्मा भएपछि हलको टेबुलमा राखेर पहिला मेसिनले प्वाल पारिन्छ, त्यसपछि बैंक हातामा हुने भट्टीमा जलाइन्छ ।

बर्खास्त कर्मचारी बहाल हुने खतरा

बैंक व्यवस्थापनले नरम कारबाही गरी छाडेपछि दोषी कर्मचारीले थुना–मुद्दाको दुःख त व्यहोर्नुपरेन नै, ती अहिले पुनः जागिरमा बहाल हुने कसरतमा छन् । बर्खास्त सहायक निर्देशकद्वय शर्मा र पौडेलले गभर्नरको निर्णयविरुद्ध सञ्चालक समितिमा पुनरावेदन गरेका छन् ।

कार्यालय सहयोगी डोमले उनलाई बर्खास्त गर्ने जनशक्ति विभागको निर्णयविरुद्ध गभर्नरसमक्ष पुनरावेदन गरेका छन् । बैंकका अधिकृत तहका कर्मचारीलाई गभर्नरले कारबाही गर्नुपर्छ भने सहायकलाई जनशक्ति विभागले । पुनरावलोकन समितिले सुरुको कारबाही नगरे अदालतमार्फत बहाली हुने ढोका पनि खुलै छ । अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement