काठमाण्डु- भारतको उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएको नेपाली छात्रा प्रिसा साहको भारतको पुरीको स्वर्गद्वारमा अन्तिम संस्कार गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापाले प्रिसाको शवको शनिबार पोस्टमार्टम भएर सोही दिन उडिसाको पुरीमा अन्त्येष्टि गरिएको हो ।
पुरीमा अवस्थित महत्वपूर्ण हिन्दू श्मशान स्थल र समुद्री तट स्वर्गद्वारमा अन्त्येष्टि गरिएको हो । अन्तयेष्टिका बेला प्रिसाका आमाबाबु, विश्वविद्यालय प्रशासनका सदस्यहरू र उनका साथीहरू उपस्थित थिए ।
केआईआईटीमा बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ प्रथम वर्षकी छात्रा साहको शव उनको छात्रावास कोठामा पंखामा झुण्डिएको अवस्थामा बिहीबार साँझ फेला परेको थियो । यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेकी थिइन् ।
परिवारका सदस्यहरूको सहमतिमा प्रिसाको पोस्टमार्टम भुवनेश्वरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा गरिएको थियो । पोस्टमार्टम रिपोर्ट २ देखि ३ दिनमा आउने छ ।
उनको मृत्युको कारण पत्ता लगाउन उडिसा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । प्रिसाको मोबाइल फोन र ल्यापटपको जाँच पछि प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा उत्तराखण्डको देहरादुनबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रिसाका परिवार संदिग्ध व्यक्तिको बारेमा पूर्ण रूपमा निश्चित नभए पनि उनको मोबाइल र ल्यापटपबाट केही जानकारी प्रहरीले पाएपछि एक जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको दूतावासका उपप्रमुख थापाले बताए ।
नेपाल सरकारले प्रिसाको मृत्युको विषयमा अनुसन्धान गनए भारतको विदेश मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत उडिसा राज्य सरकारसँग पहिले नै आग्रह गरिसकेको छ ।
भारत र उडिसा राज्य सरकारले पनि मृत्युको अनुसन्धान गर्न र प्रिसालाई न्याय दिलाउन प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया