काठमाण्डु – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा (फेसबूक) लगायतका सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआए बन्द गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राजनीतिक प्रसङ्गमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबै संस्थाले अनिवार्य रूपमा नेपालको कानून मान्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रो देशको आफ्नै स्वाधीनता छ, रेगुलेसन अत्यन्तै आवश्यक छ, नेपालमा व्यवसाय गर्न आउँदा सबैले दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान र कानून मान्नुपर्छ कि पर्दैन ?’
ठूलो आर्थिक कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा दर्ता नभई सेवा सञ्चालन गर्नु राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान विरुद्धको काम भएको गुरुङले टिप्पणी गरे । ‘नेपालीले नेपालमै चिया पसल खोल्दा समेत सीडीओ कार्यालयमा दर्ता गर्नुपर्छ तर अर्बाैं रुपैयाँको कारोबार गर्ने कम्पनी नेपालमा दर्ता हुनुपर्दैन भनी कोही कसरी भन्ने ?’ उनले प्रश्न गरे ।
गुरुङ सञ्चार मन्त्री रहँदा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको प्रसङ्ग स्मरण गर्दै वर्तमान परिस्थितिले फेरि त्यस्ता प्लेटफर्महरूलाई कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता देखिएको बताए । जेनजी आन्दोलनपछि ती सञ्जाल पुन: सञ्चालनमा आएको उल्लेख गर्दै उनले कुनै न कुनै दिन फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने स्पष्ट पारे ।
उनले धेरै नागरिकले राजनीतिलाई अपूर्ण र सतही रूपमा बुझ्ने प्रवृत्ति बढेको टिप्पणी गरे । राजनीतिमा अध्ययन र सचेत सहभागिताको आवश्यकता उनले औंल्याए । ‘धेरैले चुनाव भयो, मन्त्री बन्यो, सकियो, राजनीति गहिरो विषय हो भन्ने बुझाइ अभाव देखिन्छ,’ गुरुङले भने ।




प्रतिक्रिया