काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पुराना पार्टीका सानातिना कमी कमजोरीहरूलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाण्डुमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरू असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरूलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।
एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि उनले बताए ।
उनले भने, ‘पुराना पार्टीहरू असान्दर्भिक भयो भन्ने जुन हल्ला आइरहेको छ । त्यो गलत हो । पुराना पार्टीका सानातिना कमी–कमजोरीहरूलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको छ ।’
वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरूको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको उनले बताए ।
उनले भने, ‘अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्त्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरूको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ ।’
नेपाली कांग्रेसमा नयाँ अनुहारहरू देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग अनुभव, परिपक्कता, ठोस नीति, कार्यक्रम र मुलुकलाई चलाउन सक्ने हिम्मत र अठोट पनि छ । हामी अरु पार्टीभन्दा भिजनरी पनि छांै । त्यसकारण मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी पनि हाम्रो पार्टी हो । नेपाली कांग्रेसको कुरा गर्ने हो नयाँ अनुहारहरू छन् तर नयाँ नीति र भिजन भने छैन ।’




प्रतिक्रिया