काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आईतबार स्वदेश फर्किएका छन् ।
आईतबार साँझ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री गुरुङ स्वदेश फर्किएका हुन् ।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ३ वटा छलफल सत्र र ४ वटा मुख्य सत्रमा सहभागी भएको थियो ।
जुलाइ ८–११ सम्म सम्पन्न सम्मेलनमा सूचना प्रविधिको प्रयोगबाट दीगो विकास लक्ष्य प्राप्ति गर्ने र एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए । नेपालले यस सम्बन्धमा देखापरेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले सहयोगका लागि आह्वान समेत गरेका थिए ।
सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे छलफल गरेका थिए ।




प्रतिक्रिया