काठमाण्डु-सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने प्रस्ट पारेको छ ।
रास्वपाले सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडक आन्दोलन गरिरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीबारेको अनुसन्धान नरोकिने प्रस्ट पारेका हुन् ।
सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीसम्बन्धी अनुसन्धान नरोकिने बताए । शनिबार एमाले लमजुङले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोसिस गर्नेहरूको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने बताए । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनको दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भिड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने ।
उनले अपराध गर्ने जोकोही पनि अब बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको बताए ।
मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गरे ।




प्रतिक्रिया