प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै


पोखरा – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिने कार्यसूचि प्रदेशसभा सचिवालयले तयार गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । माघ २८ गते एमाले संसदीय दलको नेताका रुपमा निर्वा्चित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्री पदको नियुक्ति लिएका थिए ।

गुरुङले विश्वासको मत लिने, संसद बैठकमा टेबल भएको प्रदेश सभा नियमावली पारित गर्ने र आर्थिक कार्य्विधि टेबल गर्ने सूचि रहेको प्रदेशसभा सचिवालयका उपसचिव नगेन्द्रराज पौडेल जानकारी दिए । बैठकमा मुख्य मन्त्री गुरुङले आफूलाई विश्वासको मतकालागि प्रस्ताव राख्नेछन् । प्रस्ताव उपर उठेका विषयमा गुरुङले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ ।

गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ । ६० सदस्य रहेको प्रदेश ४ मा एमालेका २७ माओवादीका १२ र कांग्रेसका ११, जनमोर्चाका ३ र नयाँ शत्तिका २ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement