पृथ्वीसुब्बा गुरुङको नजरमा एमाले हार्नुका तीन कारण


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोर्नुका कारण औल्याएका छन् ।

पोखराको उपमेयरमा एमालेबाट विजयी मञ्जु गुरुङसहितका जनप्रतिनिधिलाई बधाई दिन बुधबार आयोजित सभालाई सम्बोधन गर्दै गुरुङले अघिल्लो निर्वाचन भन्दा यो पटक एमाले कमजोर बन्नुका तीन कारणहरु औल्याएका हुन् ।

उनले औल्याएका पहिलो कारण हो– २०७४ मा निर्वाचित एमालेका जनप्रतिनिधिहरु सेवक नभइ शासक बन्नु, दोस्रो तल्ला कमिटीका कुरा माथिल्ला कमिटीले नसुन्नु र तेस्रोमा मौनअवधिलाई उपयोग गर्न नसक्नु ।

गुरुङले यो पटकको निर्वाचनमा आफ्ना प्रतिनिधिहरु शसकजस्तो बन्न खोज्दा हार बेहोर्नुपरेको तर्क गरे । ‘हाम्रा प्रतिनिधिहरु सेवक होइन शासक जस्तो हुनुभयो । हाम्रा प्रतिनिधि जहाँ जहाँ शासक हुन खोजे, त्यहाँ त्यहाँ पार्टीले हार भोग्नुपर्यो,’ उनले भने, ‘हामीलाई यो निर्वाचनले गतिलो पाठ पढाएको छ । अब शासक जस्तो होइन, सेवकका भएर काम गरौँ ।’

उनले धरान र बुटवलसहितका लालकिल्ला एमालेले गुमाएको भन्दै पीडा पोखे । धरान र बुटवलमा हारको कारणमा उनले तल्लो कमिटीका कुरा माथिल्लो कमिटीले नसुनिनुलाई इंगित गरे ।

‘धरान र बुटवलको हकमा तलका कमिटीले दिएका सुझाव स्थायी कमिटी र हेडक्वार्टरले पनि गल्ती गरेको छ कि भन्ने ठानेको छु । एमालेका तल्ला कमिटीले गरेका सिफारिसलाई माथिबाट लत्याउँदा पनि धोका भएको छ,’ उनले भने । त्यस्तै गुरुङले एमालेको हारको अर्को कारण मौन अवधि भएको तर्क गरे ।

उनले भने, ‘मौन अवधिलाई हामीले उपयोग गर्न सकेनौं । त्यो समयमा सत्ता गठबन्धनले मतदाताको ध्यान ताने । एमालेले मौनअवधिलाई उपयोग गर्न नसक्दा चुकेको हाम्रो निष्कर्ष हो । एमालेको कमजोर नतिजाको एउटा कारण यो पनि हो ।’ अघिल्लो निर्वाचनमा मुलुकका ७५३ स्थानीय तहमध्ये २९४ स्थानीय तह जितेर पहिलो शक्ति बनेको एमाले योपटक भने दोस्रो स्थानमा खुम्चिएको छ ।

उसले ६ मध्ये एक महानगरमा पनि जित हासिल गर्न सकेन । एमालेले ११ मध्ये मुस्किलले ३ उपमहागरपालिकामा जित निकालेको छ । एमालेले बाराको कलैया, दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement