कानुनमन्त्रीको सम्पत्ति : ३० तोला सुन, ७० लाख ऋण


काठमाडौँ– कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था भएको कानुन बनाउने घोषणा गरेका छन् । कानुनमन्त्रीका रुपमा आफूले गर्ने १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै सोमबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो भनाई सार्वजनिक गरेका हुन् ।

सोही क्रममा तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिवदेखि न्यायाधीशसम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका हुन् । ‘वडा अध्यक्षदेखि मुख्य सचिव र न्यायाधीशसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने वा परिमार्जन गर्ने पहल गर्छु,’ उनले भने ।

उनले पत्रकार भेटघाटमा सार्वजनिक गरेको १६ बुँदे कार्यक्रमको १२ नम्बर बुँदामा पनि न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानुनै बनाउने कुरा उल्लेख छ । ‘न्यायाधीशहरुको आचरण कायम राख्न न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन गर्ने लगायतका उपायहरुको अध्ययन गरी कानून परिमार्जनग गरिने छ । न्यायाधीशहरुको आचारसंहिताको पूर्ण कार्यान्वयनको सुनिश्चितताको लागि आवश्यक कार्य गरिने छ,’ कानुनमन्त्रीको १६ वुँदे कार्यक्रममा उल्लेख छ ।

अहिलेसम्म न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कुनै कानुन छैन । तर न्यायाधीशमा नियुक्त भएको ६० दिनभित्र सम्पत्तिविवरण बुझाउनुपर्ने कानुन भने छ ।

मन्त्रीको सम्पत्ति ३० तोला सुन, ७० लाख ऋण

यसैबीच, उक्त कार्यक्रममा कानुनमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको उल्लेख गरे । कानुनमन्त्री न्यायपरिषद्को पदेन सदस्य हुन्छन् । न्यायाधीशले आचारसंहिता पालना गरेरनगरेको हेर्ने निकाय नै परिषद हो ।

मुलुकमा दलीय व्यवस्था भएका कारणले न्यायाधीश पनि कुनै न कुनै दलसँग सम्बन्धीत हुने धारणा पनि उनले व्यक्त गरे । ‘न्यायाधीश भएपछि दलको सदस्यता त्याग्नुपर्छ । न्यायाधीश भएर काम गर्नुपर्छ । न्यायाधीश भैसकेपछि पनि दलीय सम्बन्धका आधारमा फैसला भएको छ कि छैन भन्ने हेर्ने कुरा हुन्,’ उनले भने ।

नयाँ संविधान अनुसार, अब ४१ वटा नयाँ कानुन बनाउनुपर्ने उनले बताए । ती कानुन बनाउन सम्बन्धित मन्त्रालयहरुलाई आजै निर्देशन दिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement