काठमाण्डु – एमाले र माओवादी केन्द्र मिलेर बनेका प्रदेश सरकार अफ्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले ऋषि कट्टको नेकपाको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यसकाे असर प्रदेश सरकारमा देखिएकाे हाे ।
सत्तारुढ दल नेकपाबाट एमाले र माओवादी केन्द्र मिलेर प्रदेशमा सरकार गठन भएका थिए । तर, अहिले पार्टी विभाजन भएपछि यसको असर प्रदेशमा समेत देखिएको छ ।
एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि सबैभन्दा बढी असर माओवादी केन्द्रका मुख्यमन्त्रीहरुलाई परेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेश सरकार यतिबेला अल्पमतमा परेका छन् ।
माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् । कर्णाली प्रदेशसभामा अहिले माओवादी केन्द्रबाट १३ र एमालेबाट २० जना प्रदेशसभा सदस्य रहेका छन् । कांग्रेसबाट ६ जना र राप्रपाबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । कर्णालीमा नेकपाबाट दुई जना सभामुख र उपसभामुख रहेका छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउनका लागि २१ जना सांसदको आवश्यकता पर्दछ । तर, उनीसँग कांग्रेस र राप्रपाका १ गरी २० मात्रै हुन्छ ।
यस्तै सुदुरपश्चिम प्रदेश सभामा ५३ जना सांसद रहेका छन् । प्रदेशसभामा एमालेका २५, माअोवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री भट्टलाई सरकार जोगाउनका लागि २७ जना सांसदको आवश्यकता पर्दछ । तर, उनीसँग माओवादीका १४ कांग्रेस १२ र जसपाका २ गरी २८ जना सांसद हुन्छन् । मुख्यमन्त्री भट्टले सरकार जोगाउनका लागि कांग्रेस र जसपासँग सत्ता सहकार्य गर्नुपर्ने देखिएको छ ।
शंकर पोखरेल अफ्ठ्यारोमा
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल अफ्ठ्यारोमा परेका छन् । पार्टी एकता हुँदा नेकपाबाट कूल ६१ जना सांसद थिए । तर, पार्टी दुई धारमा विभाजित भएपछि पोखरेल अफ्ठ्यारोमा परेका छन् । पूर्वएमालेबाट अहिले ४१ जना सांसद रहेका छन् । माओवादी केन्द्रका २० जना सांसद रहेका छन् ।
यस्तै कांग्रेस १९, जनता समाजवादी पार्टी ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । कूल ४४ सांसद आवश्यक पर्ने मन्त्रीलाई अहिले ४१ जनाको समर्थन छ । अब उनले कांग्रेस वा जसपासँग मिलेर सरकार गठन गर्न सक्नेछन् । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेको खण्डमा मुख्यमन्त्री पोखरेल धरापमा पर्नेछन् । किनकी यी तीन पार्टी मिल्दा प्रदेशसभामा ४५ जना प्रदेशसभा सदस्य हुन्छन् ।




प्रतिक्रिया