विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति

विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत शुक्रबार र शनिबार देशका अधिकांश भागमा अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ ।

सरकारले  पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको सर्वसाधारणले समेत अनुभूत गरेका छन् ।

पहिले यस्ता विपद्का घटनामा सूचना ढिला गरी आउने, पूर्वतयारी सुस्त हुने गरेको तर यस पटकको सरकारले विपद्का घटनामा नयाँ अभ्यास गरेको पाइएको छ । विपद् पूर्वानुमान र सूचना प्रवाह दुवैमा राज्य संयन्त्रले सक्रियपूर्ण भूमिका निर्वाह गर्न भएको बताइन्छ । अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका थिए । साथै लामो दूरीको सवारी आवतजावतमा पनि रोक लगाएका थिए ।

उपत्यकातिर आउने सवारीसाधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।

दिनरात नभनी उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मैदानमा खटाइएको थियो । विपद् व्यवस्थापनले जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको सर्वसाधारणले बताएका छन् ।

दोलखाका तिलराज खतिवडा वर्तमान सरकारले विपद् व्यस्थापनमा चालेको कदमले अनुमान गरेको भन्दा कम दुर्घटना भएको बताउँछन् । २–४ दिन अगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्नुका साथै विभिन्न म्यासेज पठाएर सतर्कता अपनाउन आग्रह गर्ने काम सरकारबाट भएकाले सरकारको काम सराहनीय भएको उनी बताउँछन् ।

उनले भने, ‘बाढीपहिरो वा वर्षा हुने भन्नेबारे खासमा पहिले सूचना दिने काममा पहिला–पहिलाको सरकारले गर्नेभन्दा यसपालि अलिकति फरक महसूस भएको छ । २–४ दिन अगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्ने काम भयो । सतर्कता अपनाउने काम भएको पाइयो ।  यो राम्रो काम हो ।’

उनले स्वयं मन्त्रीहरू पनि आफैं फिल्डमा गएर सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम गरेको भन्दै प्रशंसा गरे । घटनामा सरकारको भूमिका हेर्दा जनताको भावनाअनुसार चल्दै गएको छ भन्ने महसूस गरिरहेको उनी बताउँछन् ।

अर्का सर्वसाधारण व्यापक श्रेष्ठले वर्तमान सरकारको कार्यलाई खुलेर प्रशंसा गरेका छन् । यद्यपि २ दिन सार्वजनिक गर्ने सरकारको घोषणालाई भने आलोचना गरेका छन् ।

१८० दिन अवधि भएको सरकारले २ दिन बिदा दिनमा हतार गरेको बताउँदै विगतको वर्षहरूको नोक्सानीको तुलनामा यस वर्ष क्षति कम हुने गरी भूमिका निर्वाह गरेको धारणा राखे । ‘वर्तमान सरकारले गरेका कामहरू राम्रै लागेको छ । तर २ दिन सार्वजनिक बिदा घोषणा गर्नु ठीक भएन । बिदाले देशलाई धेरै नोक्सान हुन्छ । जम्मा १८० दिनमा पनि सरकारले २ दिन बिदा दिनमा अलिकति हतार गर्‍यो । अरु–अरु कामहरू छन्, राम्रै गरेको छ । पहिला–पहिला जुन नोक्सानी वा क्षति हुन्थ्यो, यसपालि अलिक कम भएको छ । पहिलेको तुलनामा ब्लकेज़ खोल्नका लागि जुन तदारुकता देखायो त्यो कार्य सराहनीय छ,’ उनले भने ।

दशैं नभनी विपद्मा सरकारले राम्रो व्यवस्थापन गरेर प्रशंसनीय काम गरेको झापाका रामचन्द्र रन्जित सुनाउँछन् । राजमार्ग बन्द गरेर सरकारले जनताको सुरक्षाको लागि चालेको कदम उचित रहेको उनको भनाइ छ ।

उनले भने, ‘सरकारको भूमिका एकदम राम्रो लाग्यो । राम्रो व्यवस्थापन भयो । सरकारले दशैं नभनी खटेको पाइयो । सुरक्षाकर्मी परिचालन राम्रो भयो । यो सरकारसँग धेरै आशा गरेको छ ।’

त्यसैगरी अर्की सर्वसाधारण शान्ता खरेल पनि सरकार जनताको साथमा छ भन्ने महसूस भएको बताउँछिन् । ‘सरकारको भूमिका राम्रो लागेको छ । बाढी र नदीमा फसेकाहरूलाई उद्धार गरिरहेको देख्दा खुशी लाग्यो । पहिलेको सरकारभन्दा अहिले ठीकै लाग्यो । जनताको साथमा सरकार छ जस्तो फिल भएको छ,’ उनले भनिन् ।

प्राकृतिक प्रकोप मान्छेले रोकेर नरोकिने भएका कारण पनि लामो दूरीका सवारी आवतजातमा रोक लगाएर सरकारले बुद्धीमानी पहल गरेको उनको ठम्याइ छ ।

अर्का सर्वसाधारण तुलसी घिमिरेले भने सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए । काठमाण्डु उपत्यकामा केही राम्रो काम गरेको भएतापनि उपत्यका बाहिर सोही अनुसारको भूमिका नखेलेको उनको भनाइ छ ।