काठमाण्डु – गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णधीन चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका छन् ।
भेरियसनका कारण पुल निमार्णको काम प्रभावित भएपछि शनिबार मन्त्रीद्धय लेखक र दाहालले पुलको स्थलगत निरीक्षण गरेका हुन् । चार लेन पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएका कारण पुल संगै बन्ने अन्य संरचनाको काम बन्द छ ।
गत भदौमा महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर गाइडबन्ड भत्काएको छ । जसका कारण महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्री पुल निमार्ण स्थलको स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन् ।
पुलको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुबै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए । “पुलको पारि दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ यो पुल सफल भएन भने सुख्खा बन्दरगाह समेत सफल हुदैन,” गृहमन्त्री लेखकले भने, “त्यसैले हामीले चाडो भन्दा चाडो यो समस्याको समाधान गर्न स्थलगत अवलोकनमा आएका हौँ ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए । महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड २ सय ५० किलोग्रामभन्दा बढी तौलका ढुंगा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो ।
ठूला ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कंक्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्कारएर महाकाली बस्तीतर्फ सोझिएको छ । जसका कारण बस्ती र पुलसंग पुग्ने पहुँच मार्ग समेत जोखिममा परेको छ ।
पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले परिवर्तित डिजाईनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए । उनले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठुलो नोक्सान हुन सक्ने बताए ।
पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुल संडै निमार्ण हुने अन्य संरचना निमार्ण हुन बाँकी छ ।




प्रतिक्रिया