संघ र प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्छ : मन्त्री भुसाल

संघ र प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्छ : मन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताइन् ।

राष्ट्रिय आवश्यकताका आधारमा वर्तमानमा गठबन्धन बनेको उल्लेख गर्दै उनले परिवर्तनका शक्तिको बलियो सम्बन्ध, दायित्व र जिम्मेवारीले बाम–लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारिन् । “कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन”, उनले भनिन्, “गठबन्धनले आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा स्थायी सरकार दिनेछ ।”

आगामी मङ्सिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उनको भनाइ छ । “जनताले लोकतन्त्र र संविधानलाई बलियो बनाउने छन्”, ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन्, “मुलुकलाई अग्रगति दिँदै अबको पाँच वर्षमा जनताको अपेक्षा पूरा गर्नेछौँ ।” उनले तीनै तहका सरकारको उचित समन्वय र सहकार्यबाट भौतिक पूर्वाधार र आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।