कोशीमा अन्तर्घात गरेर कांग्रेसले माओवादीबाट सधैँका लागि विश्वास गुमायोः वर्षमान पुन

कोशीमा अन्तर्घात गरेर कांग्रेसले माओवादीबाट सधैँका लागि विश्वास गुमायोः वर्षमान पुन


काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा अन्तर्घात गरेको भन्दै आक्रोश पोखेका छन् । अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।

गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कोशीमा राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले अन्तर्घात गरेकाले सत्ता गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।  कांग्रेसले माओवादीबाट विश्वास गुमाएको उनको भनाइ छ ।

त्यस्तै पुनले हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भनाइ छ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।