काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रण गर्न सबै स्रोत र जनशक्ति लगाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार बसेको विपद जोखिम राष्ट्रिय परिषदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको भन्दै उनले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भिर बन्न निर्देशन दिएका हुन् ।
‘स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत, साधन प्रयोग गरेर भए पनि डढेलो नियन्त्रणमा लिनुस्’, उनले भने, ‘कतिपयले जानीजानी आगो लगाउने पनि गरेका छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उनले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
त्यस्तै सरकारले गत वर्ष बाढी पहिरोमा परेका घर पुनर्निमाणका लागि ५० करोड दिने निर्णय गरेको छ । पहिलो किस्ताको रकमस्वरुप ५० करोड दिने निर्णय गरेको हो ।
गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका तीन हजार घर पुनर्निमाणका लागि विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड दिने निर्णय भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया