काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउन सक्रिय भएकी छिन् ।
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् ।
पत्नीको आग्रह स्वीकार गर्दैं प्रधानमन्त्रीले पुस्तकालय बनाउनका लागि सघाउन सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह पनि गरेका छन् ।
ओलीले आज सामाजिक सञ्जालमा लेख्दै लेखकहरूलाई आफ्ना पुस्तक हस्ताक्षरसहित उपलब्ध गराउन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन् । साथै पत्नी राधिकाको सुझाव अनुसार त्यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री पत्नी राधिकाले पुस्तकालय बनाउन हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले लेखेका छन्,
पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास !
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो ( यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ ।’ लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ ।
तपाईंहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ ।
प्रतिक्रिया