काठमाण्डु– हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता तथा पूर्वमन्त्री नन्दसिंह बुढासहित ४ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
हुँदै नभएको विद्यालयको भवन निर्माणका लागि झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समिति अध्यक्ष रहेका नन्दसिंहसहित ४ जनालाई अदालतले दोषी ठहर गरेको हो ।
सुदर्शनदेव भट्ट,डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।अन्य दोषीमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, डोल्पाका कार्यालय प्रमुख रविचन्द्र पञ्जीयार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा रहेका छन् ।
नन्दसिंह एमालेबाट कर्णाली प्रदेशको वनमन्त्री समेत बनिसकेका छन् ।
अदालतले डोल्पा जिल्लामा दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण गरिएको भन्दै मिलेमतोमा भ्रष्टाचार भएको ठहर गरेको छ । डोल्पामा उक्त विद्यालय हुँदै नभएको पाइएको छ ।
उपभोक्ता समिति गठन गरी डोल्पाको साविक दुनै गाउँ विकास समिति वडा नम्बर २ र ३ मा दुर्गा प्राथमिक विद्यालय पिप्लाको दुई कोठे भवन निर्माण भएको भनी शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको थियो।
गत असारमा अख्तियारले १४ वर्ष अगाडि भएको अनियमितता भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अदालतले उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाएको छ।




प्रतिक्रिया